हेटौँडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा सडक ठूलो क्षेत्रमा भासिएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
आइतबार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भागमा व्यापक कटान गरेपछि सडक भासिएको हो। सडकको केही हिस्सा नदीतर्फ बगेर गएपछि अहिले उक्त स्थानमा पैदल यात्रुसमेत आवतजावत गर्न कठिन भएको छ।

भासिएको सडकमा कुनै पनि सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। जसका कारण पृथ्वी राजमार्गको उक्त खण्ड हुँदै हुने आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।
सडक भासिएको क्षेत्रमा थप कटान हुन सक्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ। सडकको अवस्था बिग्रिएसँगै राजमार्गमा सवारीसाधन रोकिएका छन् भने यात्रुहरू गन्तव्यसम्म पुग्न समस्यामा परेका छन्।

त्रिशूली नदीमा आएको बाढीले यसअघि पनि पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान तथा अन्य क्षति पुर्याएको थियो। पछिल्लो पटक कृष्णभीरमा सडकको ठूलो भाग नै भासिएपछि काठमाडौं–चितवन हुँदै पूर्व–पश्चिम यात्रा गर्ने यात्रु थप प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सडकको ठूलो हिस्सा भासिएकाले तत्कालै नियमित रूपमा यातायात सञ्चालन गर्न चुनौती देखिएको छ।





















