काठमाडौं । नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाखु खोलामा नेपाली सेनाले एक्रो बेलीब्रिज निर्माण सम्पन्न गरेको छ। पुलको आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नेपाली सेनाले २४० फिट लामो र ६० टन भारवहन क्षमता भएको एक्रो बेलीब्रिज निर्माण गरेको हो। पुलको उद्घाटनपछि यातायात सञ्चालनमा आउने जनाइएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बेत्रावतीस्थित पक्की पुल बगाएको थियो। पुल बगाएपछि अवरुद्ध बनेको आवागमन सहज बनाउन नयाँ बेलीब्रिज निर्माण गरिएको हो।
नयाँ पुल सञ्चालनमा आएपछि नुवाकोट र रसुवाबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
























