काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्।
लापाबाट बोराङतर्फ जाँदै गरेको जिप बिहीबार राति करिब १ः५५ बजे उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको सशस्त्र प्रहरीले जनाएको छ।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ की ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो। जिपमा सवार १० जनामध्ये चालकसहित नौ जना घाइते भएका छन्।
घाइतेमध्ये छ जनालाई नेपाल प्रहरी र स्थानीयको सहयोगमा नेपाली सेनाले उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। अन्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।




















