बाजुरा । समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको बाजुराको पोरखे लेकस्थित लामासिममा भेडाको ऊनबाट तयार पारिएका पहिरनको फेसन शो आयोजना गरिएको छ।
बडिमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले ‘थ्रेड्स अफ द हिमालय : फार्म टु फेसन’ कार्यक्रमअन्तर्गत फेसन शो आयोजना गरिएको हो।
थ्रेड्स अफ द हिमालय फाउन्डेसन र कासा ब्रान्डको सहकार्यमा आयोजित कार्यक्रममा स्वेता खड्का, अश्मी श्रेष्ठ, नीति शाह, भावना पन्त र आयुष्मान देशराज जोशीलगायत तीन दर्जनभन्दा बढी कलाकार तथा मोडलले बाजुरामा उत्पादित भेडाको ऊनबाट तयार पारिएका पहिरन प्रदर्शन गरेका थिए। कार्यक्रमका लागि ५५ जनाको टोली बाजुरा पुगेको थियो।

पर्यटन व्यवसायी जनेश भण्डारीका अनुसार स्थानीयस्तरमा उत्पादित ऊनलाई प्रशोधन गरी आकर्षक पहिरन निर्माण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कार्यक्रमको मुख्य उद्देश्य हो।
बाजुरामा हाल ७० हजारभन्दा बढी भेडा रहेको बताइएको छ। बझाङ र दार्चुलालगायत हिमाली जिल्लामा पनि भेडापालन तथा ऊन उत्पादनको सम्भावना छ। स्थानीय ऊन संकलन र प्रशोधन गरी व्यावसायिक उत्पादनमा जोड्न सके किसानको आम्दानी बढाउन सकिने पूर्वअर्थमन्त्री नरेशकुमार शाहीले बताए।

उनले बाजुराको भेडाको ऊन गुणस्तरीय रहेको उल्लेख गर्दै यसको व्यावसायिक उपयोगबाट आर्थिक लाभ लिन सकिने बताए। विगतमा कोल्टीबाट ऊनका १३ बोरा बोकेर काठमाडौं पुर्याएको स्मरण गर्दै उनले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयासले सार्थकता पाउन थालेको बताए।

कासा ब्रान्डले भेडाको ऊनबाट तयार पारिएका कपडा स्वदेश तथा विदेशमा बिक्री गर्दै आएको छ। पछिल्लो समय बाजुरामा उत्पादित ऊनसमेत प्रयोग हुन थालेको आयोजकले जनाएको छ।
कार्यक्रममा पूर्वसांसद बलदेव रेग्मी, बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहरा, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल र जगन्नाथ गाउँपालिकाका उपाध्यक्ष मरु विष्टलगायत जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
आगामी दिनमा बाजुरा र आसपासका जिल्लामा उत्पादित ऊन बाजुरामै संकलन तथा प्रशोधन गर्ने योजना बनाइएको छ। यसबाट स्थानीय रोजगारी सिर्जना हुनुका साथै भेडापालन र ऊन उत्पादनलाई व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




















