काठमाडौं । गोरखामा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। कालो लेदोसहित आएको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर तथा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्याएको हो।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहे पनि प्रारम्भिक जानकारीअनुसार चुमनुब्री गाउँपालिका–३, सिर्दीबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ स्थित माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको माछीखोलास्थित तल्लो बस्तीमा समेत बाढी पसेको छ।
आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ। यसैगरी, चुमनुब्री–३, सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावरहाउस तथा आसपासका ७ देखि ८ वटा घर बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढीका कारण आरुघाट गाउँपालिका–९, नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलमा समेत क्षति पुगेको छ। तीन भागमा रहेको उक्त पुलको गोरखातर्फको एक भाग बगाएपछि सो मार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
यसैबीच, धार्चे गाउँपालिका–३, सल्लेरीका २० देखि २२ वटा घरसमेत बाढीको जोखिममा रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
बूढीगण्डकीमा आएको बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।


























