विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार (आज) सरकालाई पूर्णता दिने तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले सहकर्मी दलहरूसँग छलफल गरेर सरकार विस्तार गर्ने तयारी गरेका हुन्।
गत असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले प्रदेशको नेतृत्व सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिन आँटेका हुन् ।
कार्कीले सरकारलाई पूर्णता दिन चारजना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थालेको स्रोतले जनाएको छ । उनका अनुसार माओवादीका तर्फबाट उदयपुरबाट निर्वाचित नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्ने भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री बन्ने भएका छन् । कांग्रेसकी इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्री कार्कीको तयारी छ ।
बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र कार्कीले सामाजिक विकास मन्त्रालय पाउने भएक छन् । कांग्रेसका खत्रीले उद्योग, कृषि तथा सहकारी र सुनुवारले स्वास्थ्य मन्त्रालय पाउने छन् । स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले नै लिने तयारी छ । कांग्रेसकी इन्दिरा थापा स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन् ।




















