काजीबहादुर बस्नेत (रविन)
काठमाडौं । नेपालमा एउटा परम्परा लामो समयदेखि चलिरहेको छ । आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नयाँ दिल्ली पुग्दा यसले निरन्तरता पायो ।
सुशासनदेखि देशहितसम्मका मुद्दालाई केन्द्रमा राखेर ०८२ फागुन २१ मा उनलाई मतदाताले सत्ताको साँचो सुम्पिए । तर उनले त्यसलाई गम्भीरतासाथ लिन नसकेको उनको आइतबार र सोमबारको भ्रमणले देखाएको छ ।
दुई दिने राजकीय भ्रमणमा उनी पनि अघिल्ला प्रधानमन्त्रीझैँ देखिएका हुन् । नियमितबाहेक नेपाल र भारतबीचको सदीयौँदेखिको विवाद समाधानमा ठोस प्रगति हुन नसकेको हो ।
भारतले सदीयौँदेखिका नियमित र सरल मुद्दाहरुलाई अड्काएर नेपालको प्रधानमन्त्रीको यस्तै भ्रमणका बेला ‘ब्रेकथ्रु’ नै भएझैँ सल्टाउँदै आएको छ । उसका प्राथमिकतामा सधैँजसो रेलसेवा, आयोजना शिलान्यास, नाम मात्रको अनुदानमा ऋण सहयोग तथा दुई देशका नागरिकका ‘इमोसनल’ र ‘व्यावहारिक कठिनाइ’का विषय पर्ने गरेका छन् । जसलाई नेपालका ‘राजनेता’हरुले बुझ्नै नसकेको सरकारैपिच्छे हुने प्रधानमन्त्रीका यस्ता भ्रमणले देखाउँदै आएका छन् ।
०८२ भदौको जेनजी आन्दोलनपछि निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका बालेन्दले विगतका त्यस्ता तीता कुरा बुझ्न नसकेको यो भ्रमणले औँल्याउँछ । उनको हिजो र अस्ति सम्पन्न राजकीय भ्रमणमा पनि लामो समयदेखि विवादित सीमा मु्द्दा उठ्नै नसकेको दुवै देशले सार्वजनिक गरेको ‘संयुक्त दृष्टिपत्र’ले देखाउँछ ।
यो भ्रमणमा त्यस्ता दीर्घकालीन विवाद समाधानको साटो अयोध्या–जनकपुर रेलसेवा, तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, प्रधानमन्त्री गति शक्ति योजना, खेल (क्रिकेट) सहकार्य, ऋण–अनुदान सहयोगले नै बढी प्राथमिकता पाएको छ । यद्यपि भारतले भैरहवा हुँदै विमानहरुलाई काठमाडौं आउन पनि दिने भएको छ । लामो समयदेखि नेपालले राख्दै आएकोमध्ये यो एउटा माग पूरा हुँदा हवाइ रुटमा भने यसपटक आंशिक सफलता मिलेको छ । नेपालले धेरै पहिलेदेखि महेन्द्रनगरबाट हवाइ रुट अनुमतिको अडान दोहो¥याउँदै आए पनि भारतले दिएको छैन ।
अरु त अरु लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद पछिल्लो समय नेपाल र भारतबीचको सबैभन्दा जटिल र जल्दोबल्दो मुद्दा बनेको छ । तर यही मुद्दामा नेपाल कुरा उठाउन समेत चुकेको देखिन्छ । बलियो सरकारका प्रधानमन्त्री भएकाले बालेनको यो भ्रमणमा केही न केही छलफल हुने अपेक्षा आमजनताको थियो । पछिल्ला वर्षहरुमा भारतले ‘अखण्ड भारत’को नक्सामा नेपालको यो भूमिलाई ‘आफ्नो’ भन्नथालेको र नेपालले पनि त्यसको बदला नक्सा नै छापेर ‘यो त हाम्रै भूमि हो, हामीसँग प्रमाण नै छन्’ भन्दै नयाँ नक्सा छापेको अवस्था छ । विशेषतः चीनले भारतसँग यसलाई द्विदेशीय ‘व्यापारको नाका’ स्वीकारेपछि नेपालले आपत्ति मात्रै नभई कूटनीतिक तवरमै औपचारिक विरोध दर्ज गर्दै आएको छ । यस्तोमा बालेनले हैदराबाद हाउसमा भारतीय समकक्षीसँगको एक्लाएक्लै वार्तामा समाधानको पहल गर्छन् भन्ने आश नेपालीमाझ थियो ।
तर त्यस्तो हुन नसकेको यो भ्रमणले देखाएपछि आमनेपाली निराश बन्न पुगेका छन् । त्यसो त बालेन काठमाडौं महानगरकै मेयर हुँदा कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेकाले पनि यो मुद्दा उनले उठाउने आशा थियो । उनले त्यसमा कुठाराघात गरेका छन् । यसको कूटनीतिक पहलमा उनी चुकेका हुन् ।
हुन त विपक्षीहरुले उनी भारत नजाँदै उनकै विगतका विवादित बयानबाजीबाटै आकलन नगरेका होइनन् । किन कि उनले प्रधानमन्त्री भइसकेपछि नेपालले पनि भारतको भूमि मिचेको आफूले थाहा पाएको विवादित भाषण संसद्मा दिएका थिए । यसपछि नेपालमा उनको चर्को विरोध भएको थियो । त्यसपछि उनले यो विषयमा न संसद्मा स्पष्टीकरण दिए, न त दोहो¥याए । यसबारे त्यसपछि निरन्तर मौन रहेका बालेन हैदराबाद हाउसमा मोदीसँगको ‘वान अन वान’मा पनि मौन नै बस्न रुचाए ।
यसले उनी सजिलो बाटो हिँड्न खोजेको पुष्टि हुन्छ । जुन विश्वका नेताहरुले गर्ने अभ्यासभन्दा बिल्कुलै फरक कुरा हो । जस्तो कि भारतले रुसबाट क्षेप्यास्त्र प्रतिरोधी प्रविधि किन्न खोज्दा संयुक्त राज्य अमेरिकाले आफ्ना उन्नत प्रविधिका हतियार भारतलाई आजसम्म पनि दिएको छैन । भारतले त्यो ंप्रविधि भित्र्याइसकेको छ र अमेरिकाबाट पनि भित्र्याउन चाहिरहेको छ । तर अमेरिकाले आजसम्म पनि दिन चाहेको छैन । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई आफ्नो अनन्य मित्रवत् व्यवहार गर्दै आएका छन् । यति मात्र नभई भारतलाई अमेरिकाले ‘अत्यावश्यक मित्रराष्ट्र’ वर्षौँदेखि मान्दै आएको छ । यसबाट प्रधानमन्त्री बालेनले सिक्न नसकेको देखिन्छ ।
चीन र भारतजस्ता शक्तिशाली देशसँग युवा र कूटनीतिक र राजनीतिक रुपमा अनुभवहीन प्रधानमन्त्रीले यस्ता पेचिलो मुद्दामा ‘चलखेल’ गर्न नचाहनु स्वाभाविक पनि हुन सक्छ तर देशहितमा अवसर पाउँदा पनि अडान लिन नसक्दा भने आशा गरिएकैबाट पाएको धोकाजस्तै भएको छ बालेनको भारत भ्रमण ।




















