काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा असमान सन्धि, सीमा विवाद र आर्थिक परनिर्भरताजस्ता दीर्घकालीन विषयमा ठोस प्रगति नभए पनि भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भट्टराईले भ्रमणका क्रममा भएका सहमति र समझदारीले नेपाल–भारत सम्बन्धमा नयाँ सकारात्मक सुरुवातको संकेत गरेको उल्लेख गरेका छन्।
उनले २४ बुँदे संयुक्त विज्ञप्ति, आठवटा समझदारीपत्र, द्विदेशीय भिजन डकुमेन्ट, ६/६ वटा परियोजनाको उद्घाटन तथा घोषणा र आर्थिक प्याकेजलाई समग्रमा सन्तोषजनक मानेका छन्। यद्यपि, यीमध्ये कतिपय विषय शृंगारिक भए पनि पछिल्लो समय दुई देशबीच देखिएको अन्योल र आशंका हटाउन सहयोग पुग्ने उनको भनाइ छ।
भट्टराईले दुवै प्रधानमन्त्रीको हाउभाउ र एकअर्काप्रति प्रयोग गरेका शब्दले समेत कूटनीतिक सम्बन्धमा बढ्दो न्यानोपनको संकेत गरेको बताएका छन्।
तर, उनले संरचनात्मक समस्याहरू अझै कायम रहेको भन्दै ती कुनै पनि बेला बल्झिन सक्ने र अहिले भएका सहमति तथा प्रतिबद्धता कार्यान्वयन गर्न चुनौती रहेको उल्लेख गरेका छन्।
‘समग्रमा, विषम परिस्थितिमा बनेको बिल्कुलै नयाँ सरकार र युवा प्रधानमन्त्रीलाई संवेदनशील परराष्ट्र सम्बन्धको मामलामा यत्तिको उपलब्धिका निम्ति बधाई दिनु नै उचित हुन्छ,’ भट्टराईले लेखेका छन्।




















