काठमाडौं । निर्माता तथा निर्देशक निश्चल बस्नेतद्धारा निर्देशित नेपाली फिल्म दिमाग खराबले नेपाली बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भएको छ । लक्ष्मीपूजाका दिनदेखि हलमा सुरु भएको भारतीय फिल्म टाइगर ३ सँग टक्कर लिँदै दिमाग खराबले आक्रामक व्यापार गर्न सफल भएको हो ।
दिमाग खराब कार्तिकको २४ गतेबाट देशभरका हलमा रिलिजमा आएको हो । फिल्म रिलिजको पहिलो दिन औषत व्यापार भए पनि त्यसयताका दिनमा भने फिल्म निकै रुचाइएको छ ।
फिल्म रिलिजको पाँचौ दिन अर्थात गोबद्र्धन पूजाका दिनसम्म फिल्मले राम्रो व्यापार गरिरहेको छ । अहिलेसम्म अधिकांश हलहरुमा दर्शकको अकुमेन्सी ९५ प्रतिशत रहेको हलवालाहरुले बताएका छन् । तिहार बिदाको फाइदा फिल्मले पर्याप्त मात्रामा उठाइरहेको छ ।
बलिउड फिल्म ‘टाइगर ३’को मिश्रित प्रतिक्रिया आएका कारण पनि तिहार बिदापछि यो फिल्मको व्यापारमा खासै गिरावट नआउने प्रक्षेपण गर्न सकिन्छ । निश्चल बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, बिजय बराल, सुमन कार्की लगायतका कलाकारको अभिनय छ ।
फिल्मले सुखद व्यापार गरेपछि निर्माणपक्षले खुशी व्यक्त गरिरहेको छ । विशेषगरि, राजनीतिक दलबाट वाक्क भएका जनताले नयाँ उम्मेदवारमाथि देखाएको आशालाई फिल्मले गज्जब तरिकाले प्रस्तुत गरेको छ ।