काठमाडौं । अभिनेता महेश त्रिपाठी र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा रहने नेपाली फिल्म ‘छायाँको जीत’को शुभमुहूर्त गरिएको छ।
मंगलबार काठमाडौंको मैतीदेवी मन्दिरमा क्यामेरा तथा पटकथा पूजा गर्दै निर्माण पक्षले फिल्मको औपचारिक सुरुवात गरेको हो।
भारतीय निर्देशक शिव शोहितको निर्देशनमा बन्ने फिल्म विशुद्ध प्रेमकथामा आधारित रहने निर्माण पक्षले जनाएको छ।
जिथ्रीएस फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा महेश र सिम्रनसँगै विजय देउजा, इच्छा सिंह र कविता आलेलगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको छायांकन आगामी मंसिर ४ गतेदेखि सुरु गर्ने तयारी गरिएको छ। ३० दिनको छायांकन तालिका तय गरिएको फिल्मका अधिकांश दृश्य काठमाडौं उपत्यकामा खिचिनेछन्।
फिल्मको कथा तथा पटकथा निर्देशक शोहित स्वयंले तयार पारेका हुन्। फिल्मका निर्माता सुदीप पौडेल र कार्यकारी निर्माता अनुप ढकाल छन्।
त्यस्तै, रोयल भीमसेनले प्रचार सामग्री तथा पोस्टर डिजाइनको जिम्मेवारी सम्हालेका छन् भने ज्ञानु संगम खड्का पब्लिसिटी म्यानेजरका रूपमा रहेका छन्।



















