काठमाडौं । अभिनेत्री रेखा थापाको निर्माण तथा अभिनय रहेको फिल्म ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएको छ। धनतेरसको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा आमा र छोरीबीचको द्वन्द्व तथा संघर्षलाई मुख्य विषय बनाइएको छ।
टिजरमा अभिनेत्री निरुता सिंह आमाको भूमिकामा देखिएकी छन् भने रेखा थापा र पूजा शर्मा छोरीको भूमिकामा छन्। एउटा सन्तानको खुसीका लागि अर्को सन्तानलाई त्याग्नुपर्ने परिस्थितिले निम्त्याएको पारिवारिक द्वन्द्व टिजरमा प्रस्तुत गरिएको छ।
सबिर श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा निरुता, रेखा, पूजा, महेश त्रिपाठी, पुष्प खड्का, सुवर्ण थापा, निशा अधिकारी र रमेशचन्द सिडारीलगायतको अभिनय छ।
रेखा फिल्म्स र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठ हुन्। फिल्मको कथा निर्देशक श्रेष्ठकै हो भने पटकथा शिवम् अधिकारीले लेखेका छन्।
फिल्म आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउनेछ।



















