काठमाडौँ । चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारलाई प्रहरीले पक्राउ गरेको नाटकीय दृश्य प्रस्तुत गरेपछि उत्पन्न विवादबारे हास्यकलाकार मनोज गजुरेलले माफी मागेका छन्।
चलचित्रको प्रचारका लागि गरिएको उक्त प्रस्तुतिले दर्शकमा भ्रम र असुविधा सिर्जना गरेको स्वीकार गर्दै गजुरेलले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन्।
उनले आफू व्यक्तिगत रूपमा सस्तो प्रचारबाजीभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासलाई महत्त्व दिने व्यक्ति भए पनि उक्त प्रस्तुतिमा सहभागी हुन पुगेको बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हिजो चलचित्र ‘ककाकिकी’का लागि खिचिएको दृश्य र प्रचारात्मक प्रस्तुतिका कारण धेरै दर्शकमा भ्रम सिर्जना हुन पुग्यो। यसबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी छु।’
समाजको मनोविज्ञान संवेदनशील रहेको अवस्थामा मनोरञ्जनका नाममा अनावश्यक भ्रम सिर्जना गर्नु उचित नभएको उनको भनाइ छ। प्रचारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि आवश्यक रहेको उल्लेख गर्दै उनले नियत राम्रो हुँदाहुँदै पनि निर्णयमा त्रुटि हुन सक्ने र त्यसलाई स्वीकारेर सुधार्नु सर्जकको दायित्व भएको बताएका छन्।
गजुरेलले चलचित्र धेरै कलाकार र प्राविधिकको मेहनतबाट बन्ने भएकाले प्रचारका क्रममा भएको एउटा घटनाका आधारमा समग्र सिर्जनाको मूल्याङ्कन नगर्न पनि दर्शकसँग आग्रह गरेका छन्।
उक्त घटनाप्रति सुझाव, आलोचना, चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति उनले आभारसमेत प्रकट गरेका छन्।




















