काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’को रिलिज अन्योलमा परेको छ। चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेकै दिन गृह मन्त्रालयबाट प्रदर्शन रोक्न निर्देशन आएको निर्माण पक्षले दाबी गरेको छ।
निर्देशक वसन्त निरौलाका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फोन गरेर चलचित्रको प्रदर्शन रोक्न निर्देशन आएको जानकारी गराएको हो। प्रदर्शन रोक्ने सम्बन्धमा लिखित पत्र तयार भइरहेको भन्दै मन्त्रालयले पत्र लिन बोलाएको पनि उनले बताएका छन्।
निर्माण पक्षका अनुसार चलचित्रको अग्रिम टिकट बुकिङसमेत रोक्न भनिएको छ। यद्यपि, प्रदर्शन रोक्न दिइएको भनिएको निर्देशनको लिखित पत्र र त्यसमा उल्लेखित कारणबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।
बुधबार बिहान मात्रै चलचित्रले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट पाएको थियो। कात्तिक २० गतेदेखि प्रदर्शनमा ल्याउने तयारी भइरहेका बेला रोक्ने निर्देशन आएको निर्माण पक्षको दाबीले चलचित्रको निर्धारित प्रदर्शन मिति अनिश्चित बनेको छ।
चलचित्रमा महाभारतका पात्रहरूको प्रस्तुतीकरणलाई लिएर यसअघि नै विवाद हुँदै आएको थियो। विशेषगरी पाण्डव र द्रौपदीसँग सम्बन्धित दृश्य तथा गीतप्रति केही धार्मिक संघसंस्थाले आपत्ति जनाएका थिए।
विश्व हिन्दू परिषद् नेपालले चलचित्र विकास बोर्डमा ध्यानाकर्षणपत्र बुझाउँदै चलचित्रका सार्वजनिक गीत, दृश्य र संवादको छानबिन गरी आवश्यक सुधार गर्न माग गरेको थियो। धार्मिक आस्था र पात्रहरूको गरिमामा असर पुग्न सक्ने भन्दै परिषद्ले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो।
निर्माण पक्षले भने चलचित्रमार्फत धार्मिक भावनामा चोट पुर्याउने वा सामाजिक सद्भाव बिगार्ने कुनै उद्देश्य नरहेको स्पष्ट पार्दै आएको छ। सेन्सर प्रक्रिया पूरा गरी प्रदर्शनको तयारीमा जुटेका बेला चलचित्र रोक्न खोजिएको भन्दै निर्माण टोलीले असन्तुष्टि जनाएको छ।
चलचित्रका मुख्य कलाकार हरिवंश आचार्यलाई लक्षित गर्दै सुरुदेखि नै केही समूहले विरोध गर्दै आएको निर्माण पक्षको भनाइ छ। ती समूहको दबाबका कारण चलचित्र प्रदर्शन रोक्न निर्देशन आएको हुन सक्ने निर्माण पक्षले दाबी गरेको छ।
प्रचारप्रसारमा ठूलो रकम खर्च भइसकेको र प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा निर्माण पक्षले निर्धारित मितिमै चलचित्र प्रदर्शन गर्ने वातावरण बनाउन सरकारी निकायसँग छलफल गर्ने जनाएको छ।
वसन्त निरौलाको निर्देशन तथा सुशील पौडेलको लेखन रहेको चलचित्र ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला र दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ।




















