काठमाडौं । अभिनेत्री उषा रजकले महानायक राजेश हमालसँग सार्वजनिक रुपमा माफी मागेकी छिन् । टिभी कार्यक्रम ‘आम्मा कसम याँ दुख्छ’मा गेस्ट बनेर पुगेकी रजकले अभिनेता राजेश हमालविरुद्ध कटाक्ष गर्दै दिएको अभिव्यक्ति विवादित र भाइरल भएपछि उनले सामाजिक सञ्जालमार्फत अभिनेता राजेश हमाललाई मेन्सन गर्दै माफी मागेकी छिन् ।
सो कार्यक्रममा अभिनेत्री रजक दिएको अभिव्यक्ति ‘राजेश हमाल इज अ ओभररेटेड एक्टर । एक्टिङको हिसाबले उहाँमा त्यस्तो स्पेसल केही पनि छैन । डान्स त हामी सबैले देखेका छौं ।’ भिडियो क्लिपमा भाइरल भएको छ ।
उनले हमालसँग माफी माग्दै लेखेकी छिन् “म, उषा रजक, हाम्रा बरिष्ठ अभिनेता राजेश हमालजी सँग माफी माग्न चाहन्छु । मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन । वहाँको बौधिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान कार्य र योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ तर मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरु डिजिटल तारहरुबीच कहिँ कतै हराए । अरु कसैलाई दोष नदिइ, कुनै बहाना नबनाउँदैन म मनदेखि माफी माग्दछु । आखिर शब्द मेरै हुन् : मैले भनेको कुराको लागि म आफै माफी माग्दछु ।”
अभिनेत्री रजक फेसबुक स्टाटस र कतिपय अभिव्यक्तिका कारण वेलावेलामा चर्चा र विवादमा आउने गरेकी छिन् । केही साताअघि सामाजिक सञ्जालमार्फत अभिनेता अनुप बरालविरुद्ध गरेको कटाक्षले पनि उनी आलोचित भएकी थिइन् । बरालले कास्टिङ काउच गरेको र फिल्म ‘कागबेनी’मा आफू तय भए पनि दीया मास्केलाई लिएको आरोप लगाएकी थिइन् ।
उक्त अभिव्यक्तिलाई लिएर आरोप–प्रत्यारोप चर्किन थालेपछि उषाले ती स्टाटस हटाइसकेकी छिन् । यो विवादमा कतिपयले उनीविरुद्ध ‘अटेन्सन सिकर’को आरोप समेत लगाएका थिए ।