काठमाडौं । अभिनेत्री गौरी मल्लको तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ । मङ्गलबार साँझ काठमाडौँमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।
सार्वजनिक समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्रीद्वय वसुन्धरा भुसाल, मिथिला शर्मा लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले मानिसहरू कुर्सीका लागि लड्ने गरेको र आफूले पाएको कुर्सी किन छोड्नु भनेर कुर्सीमा बसेको भन्दै राजनीतिक दल र नेताहरूप्रति व्यङ्ग्य गरेका थिए । उनले आफूले मिथिला शर्मा र गौरी मल्ललाई नाट्यश्वेरीका दुई छोरीहरूको रूपमा लिएको बताए ।
वरिष्ठ अभिनेता श्रेष्ठले उनीहरू दुवैको अभिनय, नृत्य, व्यवहारमा पोख्त रहेको उल्लेख गरे । उनले आफू जन्मिएको ६ महिनामै आमा बितेकाले आमाको माया थाहा नपाएको बताए । उनले अरूका आमाले आफ्ना छोराछोरीलाई गरेको माया देखेर आफूले आमाको माया थाहा पाएको अनुभव सुनाए । उनले आफूले अन्तरजातीय विवाह गरेकाले आफ्नो पितासँग आँखाले बोलेको अनुभव सुनाए ।
कार्यक्रममा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले गौरी मल्ल बहुप्रतिभाशाली भएको बताइन् । वरिष्ठ अभिनेत्री मिथिला शर्माले भित्री मनमा अझै पुरानो याद आइरहने बताइन् । उनले गौरी मल्ल लेखेर र भनेर नभई आफ्नो व्यवहारबाट कर्तव्य पूरा गरेको जानकारी दिइन् ।
वरिष्ठ अभिनेत्री गौरी मल्लले आफ्नो देशभन्दा ठुलो अरू केही नहुने जिकिर गरिन् । आफ्नो देशमा हुँदा निर्धक्कताको बोध भइरहने बताइन् । उनले आफूलाई लेख्न, पढ्न र गाउन सानैदेखिको चाहना भएको बताइन् ।
अभिनेत्री मल्लकै स्वर शब्द र सङ्गीतमा रहेको सो गीतमा मल्लसँगै अभिनेत्री मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियोको निर्देशन सन्तोष राजवाहकले गरेका हुन् । म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको छ ।