काठमाडौं । अभिनेता सानु ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार बिहानदेखि उनको शवलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो ।
चलचित्र कलाकार संघका पूर्वकार्यवाहक अध्यक्ष समेत रहेका ताम्राकारको श्रद्धाञ्जली र दाहसंस्कारको संयोजन कलाकार संघले गरेको थियो । उनको पार्थिव शरीरमा संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिइयो थियो ।
ताम्राकारको पार्थिव शरिरमा कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकारहरु धीरेन शाक्य, सृष्टि श्रेष्ठ, मलिना जोशीलगायत आर्यघाट पुगेका थिए ।
७४ वर्षका ताम्राकारको निधन शनिबार नर्भिक अस्पतालमा भएको थियो । मिर्गौलासम्बन्धी रोगले पीडित ताम्राकार २८ दिनदेखि उपचाररत थिए । गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि उनी पुत्रवियोगमा थिए ।