सिन्धुपाल्चोकमा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्वुका २३ वर्षीय विश्वराज श्रेष्ठ मुकदर्शक मानिसको भिडका अगाडी धेरैबेर छटपटाए । ढिलो गरी आएको प्रहरीले पनि दुर्घटनाबारे प्रक्रिया पुर्याएर मात्र उद्दार गरेको थियो । दुर्घटनाको केही घण्टापछि साँगा ल्याइपुर्याउँदा उनले प्राणत्याग गरे । दुर्घनापछि भेला भएको ठूलो भिडका सामु उनले अस्पताल पुर्याइदिन हारगुहार पनि गरे । तर उनको उद्धार गर्न एकजना पनि अघि सरेनन् । जसले गर्दा फ्याक्चर खुट्टाबाट अत्याधिक रगत बगेकै कारण मृत्यु हुन पुगेको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छापिएको खबरले धेरैको मनमा उव्जिएको चासो, चिन्ता र कौतुहलता मेरो मनमा पनि उब्जिएको छ ।
यो घटनामा खिचिएको तस्बिर देख्दा मैले उबेला MA in Anthropology मा Case study को रुपमा थोरै पढेको बिश्वब्यापी घटना याद आयो । केभिन कार्टरले एक भोकमरी ग्रस्त क्याम्प बाहिर एक सुडानी केटीको तस्बिर खिचे जहाँ एक गिद्ध उसलाई खान नजिकै पर्खिरहेको जस्तो देखिन्छ । त्यो फोटोमा बच्चा ( केटी) र गिद्ध दुवै स्थिर छन् । एक पत्रिकामा छापिएको त्यो फोटोले विश्वजगतमा निकै ठुलो कौतुहलता पैदा भयो । बच्चालाई गिद्धले भोजन बनाएर खायो ? वा खाएन ? यसको कौतुलता बिश्वव्यापी रुपमा क्रमशः भुसको आगो झै निकै फैलियो ।
१९९३ मा जब यो फोटो पहिलो पटक न्यूयोर्क टाइम्समा प्रकाशित भयो, धेरै मानिसहरूले बच्चाको अवस्था बारेको कौतुहलता बढाए । दक्षिण अफ्रिकी फोटो पत्रकार कार्टरलाई नैतिकताका अनेक प्रश्नहरु तेर्साएका थिए । ती प्रश्नहरूले कार्टरको नैतिकतामा माथि बाणले झै घोच्न थालेको थियो । बच्चालाई सहयोग गर्नुको सट्टा तस्बिर खिच्दै किन उभिनु भयो ? बच्चाभन्दा फोटो महत्वपूर्ण थियो ? बच्चीको जीवनभन्दा तपाईको चर्चा बढी महत्वपूर्ण थियो ? जस्ता प्रश्नहरु आरोपमा परिणत भए । सेन्ट पिटर्सबर्ग टाइम्स (फ्लोरिडा) ले उनको निन्दा गर्दै यसो भन्यो, “उनको पीडाको सही फ्रेम लिनको लागि आफ्नो लेन्स समायोजन गर्ने मानिस दृश्यमा अर्को गिद्ध पनि हुन सक्छ ।”
याबत प्रश्नहरुको घेरामा फोटो पत्रकार परिसकेका थिए । जबकी केभिन कार्टरले १९९४मा त्यो फोटोको लागि पुरस्कार जितिसकेका पनि थिंए । नैतिकता माथि उठेको ति प्रश्नहरु उनले सामना गर्न सकेनन र आत्मग्लानी भएर होला तीन महिना पछि कार्टरले आत्महत्या गरे ।
हालै सिन्धुपाल्चोकमा भएको घटनाको दृश्यले कार्टरले खिचेको दृश्य स्मरण गराएको छ । ती रगताम्मै भएको, खुट्टा भाचिएको युवाको वरीपरी हेर्ने मानबरुपी गिद्दहरुको भिड थियो । कसैले फोटो खिचे, कसैले भिडियो खिचे, कसैले रमिता हेरे । दुर्घटनापछि भेला भएको ठूलो भिडमा घाइते युवाले अस्पताल लगिदिन हारगुहार गरे । तर एक जना पनि सहयोगको भावना भएका व्यक्ति भेटिएनन् । ढिलो घटनास्थल पुगेको प्रहरीले पनि उद्दारलाई भन्दा घटनाको विवरण, घटनास्थलको नामजाँच तिर लाग्यो । ढिलो गरी उद्दार गरेर काठमाडौं ल्याउँदै गर्दा साँगामा आइपुग्दा उनको मृत्यु भयो ।
फोटो पत्रकार कार्टर त्यो फोटो खिच्दा एक्लै थिए, उनको विवेक पुगेन होला वा फोटो खिच्नु आफ्नो पेशागत धर्म ठाने होला, उद्दारको दायित्व सम्झिएनन् होला । अन्ततः आफ्नो कार्य गलत भएको मनन गरेर उनले आत्महत्या नै रोज्न पुगे । तर सिन्धुपाल्चोकको घटनामा एक जनामात्र थिएनन्, सयौ थिए । त्यो भिडले मानवता र नैतिकता देखाउन सकेनन् ।
अबको बिश्व यस्तै कागजी, कस्मेटीक र देखावटीमै टिक्ने छ । बिकसित देशहरुमा बरु समबेदना र नैतिकता छ तर अल्पबिकसित देशहरुमा नैतिकता र मानवता हराउँदै गएको छ ।
मानव विकासको सिद्दान्तमा भनिन्छ, समाज सरलाताबाट जटिलतातर्फ अगाडी बढ्छ । एक रेखिएबाट बहुरेखिएतामा अगाडी बढ्छ । त्यो बिकासको चरण हो । बिकसित हुनुको चरण हो । तर यो सिद्धान्त यहाँ मिल्दैन । बिकासको नाममा आज नैतिकता र मानवता हराउँदै गएको छ । काजजी÷ कसमेटिक चिज (देखावटी) हरुले समाजमा ब्यापक स्थान र मान्यता पाएका छन् । हरेक कुरालाई रोमान्टिसिजम गर्न थालिएको छ । मानिसहरु श्रद्धान्जली दिदै गर्दा, लास जलाउँदै गर्दा, किरिया बस्दै गर्दा सेल्फि खिच्न अव्यस्त भएका छन् । टिकटक बनाउन लागि परेका देखिन्छन् । यी सबले मानव मूल्य/ नैतिकता र मानवीय समबेदनामा प्रश्न चिन्ह खडा भएको छ । आजको सभ्य मानिस फेरी जंगली युगको जस्तै चेतना हरित हुँदै जान थाले जस्तो देखिन्छ । फरक के छ मानब विकासको क्रमको जंगली मानब, शिकार केन्द्रित मानबले भाला, तरबार लिएर कपडा नलगाई जंगलमा हिड्दथे, आजका आधुनिक र सभ्य हामी मानब कलम, ल्यापटप, मोवाइल लिएर कपडा लगाएर सहरमा बस्छौ । तर चेतनाको स्तर उस्तैउस्तै देखिन्छ ब्यवहारबाट ।
कहिले आँखाले हेरेर क्यानसर निको पार्छु भन्नेकोमा भिड लाग्छ, कहिले दुर्घटना हुँदा सहयोग नगरी हेर्ने को भिड लाग्छ, कहिले भबिस्यबाणी गरीदिने ज्योतिषकहा भिड लाग्छ ।
अझैपनि दिशा गरेपछि हात धुनुपर्छ भन्ने सिकाउन हामी कहाँ स्वास्थ मन्त्रालयबाट करोडौ बजेट खर्चिनु पर्ने चेतनास्तरको समाज र धरातलको सेरोफेरोमा हामी छौ । तर हाम्रा युरोप, अमेरीका पढेर आए भन्ने महाविद्वानहरु चाही मुलुलकाई सिगापुर र स्वीजरल्यान्ड भोलि नै बनाईदिने गफ दिन्छन् ।
आफ्नो वरीपरीको ब्यक्ति, समाज, परम्परा र मूल्यमान्यताका आधार र तिनले निम्त्याएका पछौटेपनको समाधान के कसरी गर्ने भन्ने हैसियत भने उनीहरुले राख्दैनन् । तिनलाई यि सामाजिक बिषयले खासै फरक पर्दैन । नौटंकी गर्न पाए भयो ।
अझै पनि यस्तै चलिराख्ने हो भने निकट भबिष्यमै कुनै दिन विकसित मुलुकका मानिसहरु ऊ बेलाको hunting and gathering Age का मानिसहरुको समाज, व्यबहार र सोच के कस्ता थिए त्यो अध्ययन गर्न नेपालमा आउने छन् । सामाजिक बिकृति कस्तो उकुसमुकुस हुने खालका छन ।
महिनावारी हुँदा गोठमा बस्नुपर्ने वाध्यता अहिले पनि समाजबाट हट्न सकेको छैन । गोठमा बसेका कतिपय युवतीहरु सर्पको टोकाइ, चिसोलगायतका कारणले मृत्यु समेत भएका घटनाहरु छन् । अशिक्षा, तल्लो सोच, रुढिबादी सोच, चेतनाको स्तर र गरिबी आदीको कारणले कलिलै उमेरमा ज्यान जाने गरेको छ । यिनको जीवनलिला अनाहकमा समाप्त भयो । त्यलैले सब कुरा छोडेर पहिला शिक्षा दिउ, चेतना देउ, सकारात्मक समाज र सोच देउ । दुरदराजमा शिक्षा र चेतनाको स्तर बढाउ । शिक्षाबाटै सचेतना आउने हो ।
तर समाजको अमानवीय व्यवहार, रुढीवादी सोच र नैतिकताको घडेरी देँदा हामी आफुले २÷४ कक्षा पढेको, थोरै जाने बुझेको, संसार देखेको बेकार जस्तो लाग्छ । जाने कहाँ जाने ? बाँकी रहेको जिन्दगीमा यस्ता तुच्छ र निर्दयी कुरा र व्यवहारहरु कसरी हेर्ने, देख्ने, सुन्ने ? आफ्ना सन्ततीलाई के कसरी छुट्टै मार्गदशन गर्ने । समाज र परिबेश यही हो !
(लेखक आचार्य मानवशास्त्री हुन् ।)