काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी भोलिसम्मका लागि स्थगित भएको छ । प्रतपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा नदिएसम्म संसद अवरोध कायम राख्ने अडान नछोडेपछि संसद् बैठक भोलिसम्मलाई सारिएको हो ।
सदनको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसहितका नेताहरूसँग संयुक्त रुपमा दुईपटक छलफल गर्दा सत्तापक्ष गृहमन्त्रीले राजीनामा नदिने र विपक्षी राजीनामा नदिए संसद चलन नदिने अडानबाट पछि नहटेपछि बैठक बस्न सकेन ।
प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्ने तालिका थियो । दलहरूबीच छलफल जारी भएपछि संसद् सचिवालयले दिउँसो २ बजेसम्मका लागि सारेको थियो। तर २ बजे पनि बैठक बस्न नसकेपछि भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको हो ।
























