काठमाडौं । बजेटपछिको पहिलो सेयर कारोबारमा नेप्से परिसूचक बढेको छ। नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको छ। सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याएको हो। जेठ १६ गते शुक्रबार परेकाले कारोबार भएन। यो साताको पहिलो कारोबार दिन आइतबार उपत्यकामा सार्वजनिक बिदा भएकाले कारोबार हुन सकेन। त्यसपछि खुलेको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको हो।
सेयर बजार सामान्य अंकले बढेपनि ९ अर्बमाथिको कारोबार भएको छ। यसदिन ३१४ स्क्रिप्सको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ रुपैयाँमा खरिदबिक्री भए। आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ओम मेघाश्री फर्माक्युटिकल्स र पियोर इनर्जीको सेयर १० प्रतिशतले बढेको हो।
सप्तकोशी डेभलपमेन्ट बैंकको ८.३१ प्रतिशतले बढ्दा नगदी हाइड्रोपावरको ७.२७ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ६.३५ प्रतिशतले वृद्धि भयो। कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८७ करोड ४७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
राधी विद्युतको ६५ करोडको सेयर कारोबार हुँदा युनिर्भसल पावरले ५४ करोड,हाइड्रोइलेक्ट्रसिटी इन्भेस्टमेन्टले ३७ करोड र बु्टवल पावरले ३४ करोड मूल्य बराबरको सेयर कारोबार गरे। कारोबारमा आएकामध्ये ११५ वटा स्टक्सको मूल्य बढ्दा १३३ वटाको घट्यो।
६ समूहको उपसूचक बढ्दा ८ समूहको उपसूचक नकारात्मक देखिए। यसदिन होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक २.३९ प्रतिशतले बढ्यो ।
























