काठमाडौं । विपक्षी दलहरुले आज पनि संसद चल्न नदिने, सत्तापक्ष पेलेर भएपनि संसद चलाउने योजनामा पुगेपछि सत्तापक्ष र विपक्षीबीच सहमतिका लागि सभामुख देवराज घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् ।
प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यको प्रयास स्वरूप सभामुखले चार दलसँग संयुक्त छलफल थालेका हुन् । यसअघि उनले छुट्टाछुट्टै पनि छलफल गरेका थिए ।
सभामुख र दलका प्रमुख सचेतकहरूको बैठकमा विपक्षी दलहरू गृहमन्त्री लेखकलाई बोल्न दिन तयार भएका छन् ।
गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा धारणा राखेर सदन सुचारु गर्ने सहमतिका साथ प्रमुख सचेतकहरू उठेको र अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेको बताइएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भन्दै विपक्षी दलहरूले उनको राजीनामा माग्दै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार एमाले संसदीय दलको बैठकमा विपक्षीले अवरोध गरे बैकठ जसरी पनि चलाउने सन्देश दिएका थिए । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा २०६४ यताका सबै गृहमन्त्रीको छानबिन गर्नुपर्ने माग गरेका छन् ।
























