काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरिरहनु गलत भएको बताएका छन् ।
सोमबार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात सञ्चालन नगरेर उनीहरुले गल्ती गरेको मन्त्री दाहालले बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन गछौं भन्ने जस्ता तर्कहरू गर्नु गलत भएको बताउँदै मन्त्री दाहालले सरकारले प्रदेशको अधिकार हनन हुनेगरी सम्झौता नगरेको दावी गरेका छन् ।
संघले कानुन बनाएपछि मात्र प्रदेशले कानुन बनाउँदा सहज हुने वताउँदै मन्त्री दाहालले केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुगेको र ती कुराहरू सम्बोधन गर्ने तयारी रहेको बताएका छन् ।
संघको कानून अघि आएपछि मात्रै प्रदेशहरूले कानून बनायो भने सहज हुन्छ भन्ने हिसाबले अहिलेलाई प्रदेशले बनाएका कानून स्थगित राखिदिन अनुरोध गरिएको मन्त्री दाहालले बताएका छन् ।
राइड शेयरिङलाई व्यवस्थित गर्ने काम भइरहेको वताउँदै मन्त्री दाहालले जनताले सुविधा पनि पाउने र राज्यको नियम कानूनको दायरामा पनि ल्याउने गरी काम भइरहेको बताएका छन् ।
नेपालमा निजी क्षेत्रले मात्रै सार्वजनिक यातायात सञ्चालन गरेकोले उनीहरू जिम्मेवार हुनुपर्ने बताउँदै मन्त्री दाहालले यातायात बन्द गर्ने र जनतालाई दुःख दिने काम गर्न नहुने बाएका छन् ।

























