काठमाडौँ । चलचित्रको पोस्टर टाँसेर महानगरलाई फोहोर र वातावरण प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र ‘बगान’का निर्मातालाई ५० हजार जरिवाना तिराएको छ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले कार्यालयमै झिकाएर ५० हजार रुपैयाँ जरिवाना तिराएको बगानका निर्माता सुरेश वाग्लेले बताएका छन् ।
पाण्डेको कार्यशैलीप्रति निर्माता वाग्लेले गुनासो पनि गरेका छन् । उनले लेखेका छन् “पोस्टर टाँसेको देखेर हामीलाई महानगरबाट फोन आयो । उहाँहरुले कुरा गर्न आउनु भनेर बोलाउनु भयो, महानगरको कार्यालयमै मिडिया पनि बोलाएर हाम्रो फिल्मविरुद्ध दुष्प्रचार भयो । महानगरले हामीलाई नराम्रो व्यवहार गरेर जरिवाना पनि तिरायो ।”
५० हजार रुपैयाँ जरिवाना बुझाएपछि वाग्लेले मेयमर बालेन्द्र शाह ‘बालेन’सँग सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।
फोहोरको थुप्रोलाई पृष्ठभूमिमा पारेर महानगरलाई जरिवाना तिरेको रसिदको फोटो राख्दै निर्माता वाग्लेले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् – “Balen जी आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग पनि गरिदिनुहोला ‘🙏🙏
हाम्रो जानकारीविना केही धरको भित्तामा टालेको पोस्टरलाई महानगरले ५० हजार जरीवाना तिराएछ ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेजीले मिडियावाजी गर्नुअघि हामीलाई जानकारी गराउनु भएको भए हामी त्रुटि सच्याउने समय पाउँथ्यौँ ।
वातावरण प्रदूषण विरूद्धको महानगरको अभियानमा हाम्रो साथ र सहयोग सदैव रहने छ ।”
वाग्ले अर्को स्टाटर्समा लेखेका छन् – “महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो ! कसले भन्छ Balen जी नेपाली सिनेमालाई माया गर्नु हुन्न भनेर? #जयबगान #जयबालेन 🙏🙏💕💕 Nepali Movie Bagan”