काठमाडौं । नेपाली रक स्टार (गायक तथा अभिनेता) रोबिन तामाङप्रति श्रष्टा, शुभेच्छुक तथा आफन्तजनहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । आइतबार तामाङको पार्थिव शरीरलाई नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो ।
कयौँ चर्चित गीत गाउनुका साथै थुप्रै नेपाली फिल्ममा अभिनय पनि गरेका उनलाई पर्यटनमन्त्री, सञ्चारमन्त्रीहरुदेखि देशका चर्चित कलाकार र नेताहरुले पनि श्रद्धाञ्जली दिएका छन् ।
श्रद्धाञ्जलीमा सहभागीहरुले तामाङ निधनले क्षति पुगेको बताएका छन् । उनको सम्झनास्वरुप कलाकारहरुले गीत गाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । ६० वर्षीय चर्चित गायक तामाङको गत मंगलबार बेलुका बुढानिलकण्ठस्थित निवासमा निधन भएको थियो ।