काठमाडौं । सरकारका प्रवक्ता तथा संचारमन्त्री रेखा शर्माले भारतीय चलचित्र आदिपुरुषमा रहेको केही शब्द हटाएर सरकारको सेन्सर बोर्डबाटै पास गरिएको बताएकी छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भावनात्मक हिसाबमा सबै नेपाली एकै ठाउँमा रहेको भन्दै भारतीय चलचित्र चल्न दिने वा नदिने भन्ने विषयमा सबैले क्षेत्राधिकार बुझ्नुपर्ने उल्लेख गरिन् । शर्माले स्टन्टमा भन्दा पनि दिर्घकालिन समाधानमा ध्यान दिनुपर्ने भन्दै सरकारले परराष्ट्र मन्त्रालयमार्फत् आफ्ना कुरा राखिसकिएको बताइन् ।
प्रवक्ता शर्माले विद्युतिय कारोवार ऐन दफा ६० को उपदफा ५ बमोजिम सोहि ऐनको परिच्छेद ९ मा उल्लेख भएबमोजिमका कसुरहरुको सुरु कारवाही र किनारा गर्ने अधिकार तथा बैंकिङ कसुरको सुरु कारवाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने निर्णय सरकारले गरेको जानकारी दिइन् । आम नागरिकलाई सहजता प्रदान गर्न विद्युतिय कारोवारका मुद्धा हेर्न सर्वोच्च र उच्च अदालतका साथै जिल्ला अदालतलाई समेत तोक्ने निर्णय भएको उनले बताइन् ।
बैठकले महिलामाथि हुने सवै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी १९८९ को सातौ आवधिक प्रतिवेदन समितिमा पठाउन स्वीकृत दिने, रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई ओमानमा हुने एक सम्मेलनमा सहभागीता जनाउन स्वीकृत दिने र नेपाल सरकार र बेलायत सरकारबीचको दुईपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्ने विधेयक सदनमा पेश गर्ने निर्णय भएको उनले बताइन् ।
त्यस्तै प्रवक्ता शर्माले सरकारले प्रस्तुत गरेको बजेट संशोधन गर्न सकिने भन्दै बजेट संशोधन हुँदैमा सरकार असफल भयो भनेर बुझ्न नहुने जिकिर गरिन् । उनले यसअघि डा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पनि बजेट संशोधन भएको र अहिले पनि आवश्यकता परे बजेटमा संशोधन गर्न सकिने धारणा राखिन् ।