काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले दक्षिण भारतीय चलचित्र ‘आदीपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश मूल भागबाट नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने व्यवस्था मिलाउन सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलाई पत्राचार गरेका छन् ।
उनले पत्रमा उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख गरेका छन् ।
नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६)ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने संरक्षण तोकेको उल्लेख गर्दै बालेनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने तर्क पनि बालेनले गरेका छन् ।
नेपाल सरकारले छिमेकी मित्रराष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन मेयर शाहले ध्यानाकर्षण गराएका छन् ।