काठमाडौँ । मण्डला नाटकघरमा विलियम शेक्सपियरको ‘म्याकबेथ’ माथि बनेको नाटक ‘म्याकबेथ म्यासाकर’ ओपरा सङ्गीतसहित मञ्चन भइरहेको छ । वान वल्र्ड थिएटरकी संस्थापक डेबोरा मेरोलाले निर्देशन गरेको नाटक दुई घण्टा ४५ मिनेटको रहेको छ । जेठ ५ बाट सुरु भएको यो नाटक जेठ १४ गतेसम्म मात्र मञ्चन हुनेछ ।
“नाटकको भावनालाई सङ्गीतले उठाइदिएको थियो । त्यसैले हामीले सङ्गीत राख्ने योजनासहित अमेरिकाबाट ओपेराकै सङ्गीतकर्मीहरूलाई बोलायौँ”, निर्देशक मेरोलाले भनेका छन् ।
अङ्ग्रेजी भाषाको नाटकमा विदेशीसँगै नेपाली कलाकारहरूले पनि अभिनय गरेका छन् । यसमा राजकुमार पुडासैनी, सजक राणा, शिशिर सिवाकोटी, पशुपति राई, सरोज अर्याल, सन अधिकारी, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।
नाटकमा कलाकार पुडासैनी म्याकबेथ र कलाकार एन्डी डेभिस म्याकबेथ पत्नीका रूपमा प्रस्तुत छन् । नाटककी कलाकार राईले नाटकसँग नेपाली दर्शक जोडिने बताएकी छिन् । उनका अनुसार “नाटकमा सत्ताका लागि गरिने खिचातानी र त्यसले मानिसमा पार्ने प्रभाव देखाइएको छ । सामाजिक र राजनैतिक घटनाक्रम नेपाली समाजसँग पनि मिल्दो रहेको छ ।”