काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पूर्जी जारी हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरुलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानी गर्न नहुने बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको बताए । नक्कली भूटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसदमा नेकपा एमालेले उठाएको दाबी गरे ।
उनले पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग गरे ।




















