काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आए हतकडीसहित आउन सरकारलाई चुनौती दिएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले आफूलाई पक्राउ गर्न प्रहरी निगरानी बढाएको संकेत गरेको भन्दै थापाले सरकारलाई यस्तो चुनौती दिएका हुन्।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकारको दबाब र डरबाट आफू पछि नहट्ने बताए। विपक्षीलाई तर्साएर आफ्ना कमजोरी लुकाउने प्रयासविरुद्ध आफूले प्रश्न उठाइरहने उनको भनाइ थियो।
‘मलाई समाउने भन्छन्। पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनु। खाली हात चाहिँ जान्नँ। यत्ति कुरा हो। न कांग्रेसले आफ्नो चरित्र लुज गर्छ, न कांग्रेसको नेतृत्वले चरित्र लुज गर्छ। हामीले ठीक प्रश्न गर्न छाड्यौँ भने, हामीलाई कसैले तर्साएर तर्सन थाल्यौँ भने कांग्रेस होइन,’ थापाले भने।
उनले विगतमा बल प्रयोग गरेर तर्साउने प्रयास हुने गरेको र अहिले सामाजिक सञ्जालमार्फत डर देखाउन खोजिएको टिप्पणी गर्दै आफू प्रश्न गर्न नछाड्ने स्पष्ट पारे।
सभापति भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पाँच पटक भेट गरेको पनि थापाले जानकारी दिए। विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट र संवाद गर्नु आफ्नो जिम्मेवारी भएको भन्दै उनले माओवादी अध्यक्ष र रास्वपा सभापतिसँग पनि भेट हुने गरेको बताए।
‘म कांग्रेस सभापति हुँ, एमालेको अध्यक्षसँग मेरो भेटघाट हुन्छ, माओवादी अध्यक्षसँग भेटघाट हुन्छ, रास्वपाको सभापतिसँग भेटघाट हुन्छ। प्रधानमन्त्रीले कोहीसँग भेटघाट नगर्ने भएको हुनाले उहाँसँग हुँदैन, बाँकी सबैसँग हुन्छ,’ थापाले भने।




















