काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि भएको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अभियानका क्रममा कतिपय कार्यकर्ताबाट सत्ता गठबन्धनमा हेरफेर ल्याउन सुझाव आए पनि पार्टीको ध्यान त्यतातिर नभई पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनतिर भएको स्पष्ट गरे ।
‘कुनै पनि पार्टीको बहुमत नपुग्ने वर्तमान ‘हङ’ संसद्बाट जनतालाई साँचो अर्थमा सेवा दिन सकिँदैन,’ उनले भने।
वर्तमान सत्ता गठबन्धन आफ्नै कारणले असफल भएमा संसदीय भूमिकाअनुसार अर्को सरकार दिनुपर्ने अवस्थामा बाहेक एमालेको प्राथमिकता नभएको उनले बताए ।
उनले नेकपा कालमा ध्वस्त भएको पार्टीको साङ्गठनिक र वैचारिक लय र विरासतलाई एक हदसम्म उक्त अभियानले फर्काउन सफल भएको बताए ।




















