काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नेतृत्व गर्न पछि नहट्ने बताएका छन् । उनले सय दिनमात्रै पनि सरकारको नेतृत्व गर्न पाए व्यापक सुधार गरेर देखाउने दाबी गरे ।
उनले पार्टीले सरकारको समर्थन फिर्ता लिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेकाले रचनात्मक भूमिका निर्वाह गर्ने बताए । तर सरकारको नेतृत्व गर्ने अवसरमा पाए त्यसलाई सदुपयोग गर्ने बताए ।
‘सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैनौं । तर खेलले कस्तो भूमिका खेल्छ भन्ने पनि छ। हामी बेन्चमार्कभित्र रहेर निर्णय गर्छौं,’ उनले भने, ‘देशमा अस्थिरता ल्याउनु हुँदैन भन्ने हाम्रो मान्यता हो । स्थिरताका लागि प्रधानमन्त्री बन्न परे पछि हट्दैनौं ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साविककै मन्त्रालय दिने प्रस्ताव गरेको स्वीकारे । उनका अनुसार न्यूनतम साझा कार्यक्रममा अघिल्लो सरकारले ल्याएका कुराहरू समेटिएन ।



















