काठमाडौँ । सरकारमा जाने-नजाने तथा समर्थन कायम राख्ने-नराख्ने भन्ने बारे राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार (आज) छलफल गर्दैछ।
साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा सहभागी हुने विषयबारे छलफल गर्ने कार्यसूची रहेको छ।
गत सोमबार पनि रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठक बसेको थियो। बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आउन प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए। लामिछानेले केन्द्रीय कमिटी सदस्य र सांसदहरूसँग पनि राय मागेका थिए।
सरकारमा सहभागी हुने रास्वपाले साविककै मन्त्रालय (उपप्रधानसहित गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य राज्यमन्त्री) पाउनुपर्ने अडान राखेको छ। त्यस्तै सरकारको न्यूनतम साझा कार्यक्रम पुनःलेखन हुनुपर्ने, मन्त्रालयका काममा प्रधानमन्त्रीको हस्तक्षेप हुन नहुने र सरकारको स्थायीत्वको शर्त पनि अघि सारेको छ।
यी शर्त पूरा गर्न प्रधानमन्त्री तयार भए पार्टी सरकारमा जान तत्पर रहेको रास्वपाले बताएको छ। यस्तै, सत्ता गठबन्धन दलले रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डलाई नै जिम्मा दिएको छ।
गठबन्धन घटक दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि रास्वपालाई सरकारमा ल्याउनेबारे एक खालको सहमति भइसकेको बताउँदै आएका छन्। रास्वपालाई सरकारमा सहभागी गराउने सन्दर्भमा कांग्रेस पनि सकारात्मक रहेको बताइन्छ।
वैशाख १० को उपनिर्वाचन जितेर लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।




















