काठमाडौँ । पूर्व गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने ठगी धन्दामा आफ्नो संलग्नता नभएको दावी गरेका छन् ।
आज प्रेस विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ आफूविरुद्ध तथ्यहीन प्रचार गरिरहेको आरोप लगाएका छन् । झुटा प्रचारमा प्रतिक्रिया दिने आफ्नो व्यक्तिगत रुचि नरहेको बताउँदै उनले प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।
राजनीतिक प्रतिशोधले आफूविरुद्ध आरोप लगाइएको दावी गर्दै उनले आफूहरुले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेको बताएका छन् ।
राजनीतिक जीवनमा आफ्नो व्यक्तिगत इच्छा नभएको बताउँदै उनले शरणार्थी प्रकरणमा झुटो आरोपसहित आफ्नो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गरेका छन् ।
संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा अनुसन्धानका लागि इमानदारीपूर्वक सहयोग गर्ने उनले बताएका छन् ।
पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले विज्ञप्ति जारी गरेका हुन ।



















