सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई तेस्रो पटक पनि विश्वासको मत प्राप्त भएको छ ।
मुख्यमन्त्री शर्माले शुक्रबार तेस्रो पटक विश्वासको मत लिने क्रममा मतदान गर्ने ३९ सदस्यमध्ये पक्षमा २९ र विपक्षमा १० मत परको छ।
नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।
त्यस्तै नेकपा एमालेका ९ र राप्रपाका एकजना सहित १० जना सांसदले विपक्षमा मतदान गरेका छन् । ४० सदस्यीय प्रदेश सभामा कुल ३९ जना सांसद उपस्थित रहेका थिए ।
यसअघि पहिलो पटक शर्माले ६ माघमा विश्वासको मत लिएका थिए । सो बेला एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए । त्यो बेला कांग्रेसले विपक्षमा भोट हालेको थियो ।
राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला राप्रपा बाहेकका सबै दलले पक्षमा मत दिएका थिए ।
तर, राष्ट्रिय राजनीतिकको समीकरण अनुसार कांग्रेस–माओवादीको सरकार बन्ने भएपछि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो ।
जसअनुसार मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन् । कर्णाली प्रदेशसभामा हाल कांग्रेसका १४ र माओवादीका १३ सांसद छन् ।
यस्तै एमालेका १० सांसद रहँदा स्वतन्त्र, नेकपा एस र राप्रपाका एक-एक सांसद छन् ।




















