काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन् ।
शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए । उनले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताए । उनले जनताले ठूला राजनीतिक दलहरुलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताए । उनले नेपालीहरु कोही पनि एकअर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताए । उनले सबै राजनीतिक दल र नेताहरु गरिबीको बिरुद्धमा एकजुट हुनुपर्ने बताए ।
उनले देश आर्थिक संकटमा रहेकाले सबै पार्टी प्रतिपक्षमा नबस्न आग्रह गरे ।
मन्त्री किराँतीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै रहेको आरोप लगाए । उनले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरु स्वयं रहेको बताए । उनले मन्त्रीहरुले हरेक दिन आफू मन्त्रालयमा आएपछि करोडौँ रुपैयाँ खाने गरेको बताए । उनले भगवानहरु पनि आफ्नो स्थानमा बस्ने भएकाले मानिसहरु आफ्नो विज्ञतामा बस्नुपर्ने बताए । उनले अहिले राज्य सत्ताका सारा अंगहरु मृत्युप्रायः रहेको दाबी गरे ।
मन्त्री किराँतीले देशका कानून संशोधन गरी अघि बढ्नुपर्ने बताए । उनले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले नेपालीहरुको रगत-रगतमा भ्रष्टाचार रहेको बताए ।




















