काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्तिसुरक्षामा देखापरेको चुनौतीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीवार सिंहदरबारस्थिच गृहमन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्तिसुरक्षामा देखापरेको चुनौतीका विषयमा ध्यानाकर्षण गराएको हो । गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।
उनले मुलुकको सबैभन्दा ठूलो पार्टीको शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्तिसुरक्षा कस्तो छ ? भन्ने स्पष्ट पारेको बताए । उनले गृहमन्त्रीसँग आफूहरुले आक्रमण गर्नेलाई तत्काल कानूनी दायरामा ल्याई कारबाही गर्न आग्रह गरेको पनि बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नै अराजक गतिविधि गर्नेहरुलाई प्रोत्साहित गरेको आरोप लगाए । उनले प्रदेश नामाकरण कानूनी रुपबाट टुंग्याइसकेको विषयमा प्रधानमन्त्रीले ठिक रहेनछ भन्नु अराजकतालाई प्रश्रय दिनु रहेको जिकिर गरे ।
उनले काठमाडौं महानगरपालिकाको वडा नम्बर ६, सरस्वतीनगरमा ८ दिनअघि वैशाख ७ गते दिनदहाडै पसलमा व्यवसाय गरेर बसेकी चेली मारिएको तर ८ दिनसम्म सत्यतथ्य बाहिर ल्याउन सरकार तदारुकताका साथ काम गर्न नसकेको बताए । उनले भने- ‘देशकै ठूलो पार्टीका शीर्ष नेता पनि असुरक्षित हुनुहुन्छ भने यहाँ सरकार छ कि छैन ? सरकारले के गर्छ ? यो गठबन्धन सरकार जुन हिसावले बनेको छ, एकपछि अर्को असफल भएको छ । न्युनतम कर्तव्य पनि पूरा गर्न सकेको छैन ।’
नेता भट्टराईले वैशाख ७ गते दिनदहाडै कपनको सरस्वती नगरमा व्यवसाय गरेर बसेकी निरा आचार्यको हत्या ८ दिन बितिसक्दा समेत पत्ता नलागेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए
उनले वर्तमान सरकार एकपछि अर्को असफलतामा गुज्रिरहेको बताए । उनले वर्तमान गठबन्धन सरकारले आफ्ना न्युनतम कर्तव्य पनि पूरा गर्न नसकेको आरोप लगाए ।




















