बारा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् ।
बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हनु ।
उपेन्द्र यादव देशको नेता भएको र संसदका लागि चाहिने भन्दै उनले भने, ‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो । मधेशले मात्रै नभएर देशले जित्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो। समग्र परिवर्तनका मुद्दाले जित्नु हो। संविधान र लोकतन्त्रको रक्षा एवं समृद्धिका लागि यो गठबन्धन बनेको हो। त्यसैले उपेन्द्रजीले जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पारौं ।’
सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.–२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाल लगायतले सम्बोधन गरेका थिए ।




















