काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरूद्ध रिटमाथि आज सुनुवाइ भएन । रिटको पेशी कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलाशमा तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको छ ।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार,बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेनविरूद्द अधिवक्ता पदम बहादुर श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकालाई विपक्षी बनाइएको छ ।
निवेदनमा आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानुन विपरित फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न माग गरिएको छ ।
काठमाडौंको सिंहदरवारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्रीको आवास रहेको क्षेत्रभित्र फोहोर संकलन नगर्ने भन्दै शाहले अभिव्यक्ति दिएका थिए। सो क्षेत्र सार्वजनिक स्थल र विभिन्न महत्वपूर्ण कार्यालयहरू भएकाले देशभरिको सामान्य जनताहरू दिनहुँ हजारौंको संख्यामा आवतजावत गर्नुको साथै उक्त स्थानमा कार्यरत कर्मचारीसमेत करिब दुई हजार हजार जनाको संख्यामा रहेको र सो क्षेत्रभित्र होटलसमेत रहेकाले कुहिने र नकुहिने फोहोर नियमित संकलन गर्नुपर्ने निवेदनमा उल्लेख छ ।