काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । वैशाख १ देखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘नाई नभन्नु ल ६’ को प्रदर्शन रोकिएको हो । निर्माण युनिटले चलचित्रको सेन्सर नभएका कारण प्रदर्शन रोकिएको बताएको छ ।
चलचित्रका कार्यकारी निर्माता भनिएका सञ्जय न्यौपानेविरुद्ध आर्थिक लेनदेनको विषयलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि चलचित्रको सार्वजनिकमा प्रभावित भएको हो । डिएस डिजिटल र एफडी कम्पनीले न्यौपानेविरुद्ध बोर्डमा उजुरी दिएका थिए ।
न्यौपानेले डिएस डिजिटललाई ११ लाख र एफडीलाई दुई लाख रुपैयाँ तिर्न बाँकी छ ।
यता, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भने सेन्सरको कारण चलचित्र नरोकिएको बताएका छन् । उनले चलचित्र सेन्सरका लागि विकास बोर्डले पत्र दिइसकेको स्पष्ट पारे । ‘नाईं नभन्नु ल ६’ विकासराज आचार्यले निर्देशन गरेको चलचित्र हो । सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको यो चलचित्रमा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्गबहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलका छोरा अथर्वको पनि अभिनय छ । आख्यान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल रहेका छन् ।

























