काठमाडौँ । चलचित्र ‘प्रसाद २’ को प्रदर्शनका लागि बाटो खुलेको छ । उच्च अदालत पाटनले सो चलचित्रको प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएपछि सो चलचित्र प्रदर्शन हुन पाउने भएको हो ।
चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा सोमवार भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।
अदालतले दिएको आदेशमा चलचित्र निर्माण गर्न इजाजत प्राप्त कम्पनी सुलभ थापा प्रोडक्सन प्रालिले प्राप्त गरेको र निवेदकसँग कुनै सम्बन्ध नदेखिको हुँदा निर्माण भइसकेको चलचित्र प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले जारी गरिएको अल्पकालीन आदेश जारी नहुने उल्लेख गरिएको छ।
गत चैत २१ गते व्यवसायी केशव पाण्डेले आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र १० प्रतिशत स्वामित्व रहेका निर्माता सुभाष थापाले बिना अनुमति रिलिज गर्न लागेको भन्दै तत्काल प्रदर्शन रोक्न रिट हालेका थिए । उनको रिटका कारण गत चैत २४ मा प्रदर्शन तय भएको चलचित्र ‘प्रसाद–२’ प्रदर्शन रोकिएको थियो ।
























