काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको छ ।
सार्वजनिक भएको दोस्रो अडियोमा आफूलाई ढाकाकुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन संवाद छ । उक्त अडियोमा ती व्यक्तिले ढाकाकुमारले भेट्न चाहेको भन्दै प्रसाईंसँग समय मागेका छन् ।
आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले प्रसाईंलाई फोनमा भन्छन्, ‘पार्टीले अब कारबाही गर्ने भयो । दाइ साधारण सदस्य पनि नरहने, सांसद पनि जाने भयो । ….दाइलाई फसाए । हजुरले यसो बुझ्दिनु पर्यो यो कुरालाई ।’
त्यसपछि प्रसाईंले यसमा ढाका कुमारको नभई रवि लामिछानेको दोष रहेको भन्दै ढाका कुमारलाई सहयोग गर्न तयार भएको बताउँछन् ।
त्यसपछि ढाका कुमारको भाइ बताउने व्यक्तिले भन्छन्, ‘एकचोटि दाइले भेट्न खोज्नुभाथ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?’
प्रसाईं भन्छन्- म आज वीरगञ्जको कार्यक्रममा छु । भरे बेलुका भेट्न भन्दिनुहोला नि त ल ।’
आफूलाई ढाका कुमारको भाइ भनेर चिनाएका ती व्यक्तिले ‘दाइले एकचोटि कुरा गर् न त’ भनेर भनेकाले आफूले फोन गरेको प्रसाईंलाई बताउँछन् ।
कपुरबोट डटकमको युट्युब च्यानलबाट सार्वजनिक भएको यो सम्वादमा आफूलाई ढाका कुमारको भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई गरेको फोनको नम्बर नै देखाइएको छ ।
साथै अर्को एक क्लिपमा दुर्गा प्रसाईंका सहयोगी यदु गौतमसँगको फोन सम्वाद पनि छ । गौतमलाई फोन गर्ने व्यक्तिले दुर्गा प्रसाईंले अडियो प्रकरणबारे सकारात्मक कुरा बोलिदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् । त्यसका लागि यदु गौतमबाट मध्यस्थताको अपेक्षा पनि गरेका छन् ।