काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य तथा २०१५ सालको आमनिर्वाचनमा धनकुटाबाट निर्वाचित पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएको छ ।
उहाँको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
वि.सं. १९८१ साल फागुन ६ गते पिता मचिन्द्रबहादुर तुम्बाहाम्फे र माता तौलीहाङमा जवेगु तुम्बाहाम्फेको ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका तुम्वाहाम्फे पार्टीको सातौँ महाधिवेशनपश्चात् जननायक बिपी कोइरालाको सभापतित्वमा रहेको पार्टीको केन्द्रीय कार्यसमितिमा सदस्य थिए । स्वर्गीय तुम्बाहाम्फेप्रति उच्च सम्मान प्रकट गर्दै २०७९ चैत्र २५, २६ र २७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउनुका साथै चैत्र २६ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् । १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गरिने पनि उनको भनाइ छ ।