काठमाडौं । चलचित्र ‘बहाव’को बुधबार प्रिमियर गरिएको छ । बुधबार बेलुका नयाँबानेश्वरस्थित वान सिनेमाज् मल्टिप्लेक्समा आयोजित समारोहमा कलाकार, सञ्चारकर्मी, राजनीतिज्ञ, व्यवसायीलगायतका सहभागि थिए ।
सुरक्षा पन्त र कमलमणी नेपालको मुख्य अभिनय रहेको चलचित्रको प्रिमियर शो हेर्न एमालेका सांसद रघुजी पन्त, कांग्रेसका सांसद प्रदीप पौडेललगायतका नेताहरु हलमा पुगेका थिए ।
प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा सुरक्षा र कमलमणीले बाबुछोरीको भूमिका निर्वाह गरेका छन् ।
चैत २४ गते शुक्रबारबाट प्रदर्शनमा आउने सो चलचित्र प्रमोद कँडेलको लेखन निर्देशन रहेको छ भने पन्त, नेपालका साथै अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
फिल्मका निर्माता श्रीधर पौडेलले कथा राम्रो लागेकोले आफूले फिल्ममा लगानी गरेको बताएका छन् ।
फिल्ममा सुरक्षालाई विद्रोहको ज्वाला दन्किएको एक युवतीको रूपमा देखाइएको छ । सुरक्षा अहिलेसम्मका फिल्म भन्दा केही फरक रूपमा प्रस्तुत भएको र उनको प्रेमी, विद्रोही र पागलपन भावले दर्शकलाई प्रभावित पार्ने निर्माता पौडेलले बताएका छन् । ‘बहाव’ले हरेक नेपालीको घरको कथा उठान गरेको पौडेलले बताएका छन् ।
सुजन बडालको सम्पादन रहेको फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत छ ।
























