काठमाडौं । सत्तारुढ दलभित्रका मुख्य पाँच दलले उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त अपील गरेका छन् ।
सरकार निर्माणका बेला दश दलीय गठबन्धन बनेपनि संयुक्त अपीलमा भने पाँच दल मात्रैको हस्ताक्षर रहेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रूपमा अपील गरेका हुन् ।
संयुक्त अपीलमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर ठाकुरको हस्ताक्षर छ ।
गठबन्धनका तर्फबाट तनहुँ १ मा गोविन्द भट्टराई, चितवन २ मा जीत नारायण श्रेष्ठ र बारा २ मा उपेन्द्र यादवर उम्मेदवार रहेको जानकारी दिँदै साझा उम्मेदवारलाई विजयी गराउन नेता कार्यकर्तालाई निर्देशन दिइएको छ।
‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था-संगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उप-निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ-आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौं,’ अपीलमा भनिएको छ ।





















