काठमाडौं । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रियसभाले पारित गरेको छ ।
आइतबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकमा राष्ट्रियसभा सांसद डा. बेदुराम भुसालले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसअघि विधेयकमाथिको छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरुले मुलुकका लागि योगदान दिएका व्यक्तिहरुलाई सेवा सुविधाका साथै मर्यादा कायम गर्नका लागि कानून अपरिहार्य भएको धारणा राखेका थिए ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै भुसालले विधिको शासन व्यवस्थालाई कायम राख्न कार्यपालिकाले पनि बिधिमा बाधिएर कार्यसम्पादन गर्नका लागि ऐन नै बनाएर व्यवस्थापन गर्न खोजिएको बताए । यसलाई परिमार्जन र समृद्धि बनाउनका लागि संशोधन र छलफल आवश्यक रहेको उनको भनाइ छ ।
त्यसअघि आइतबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा सांसदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए भने बैठकको सुरुमै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको निर्धारित समयमा नेपाल सरकारका मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । राष्ट्रियसभाको अर्को बैठक चैत १६ गते बिहीबार बोलाइएको छ ।



















