काठमाडौं । नेपाल चलचित्र नृत्य सङ्घले चलचित्र, गीत सङ्गीतको भिडियोमा नृत्य गर्ने कलाकारले पाउने पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेको छ ।
सङ्घका अध्यक्ष जनक कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी चलचित्र÷गीत छायाङ्कनमा एक दिनको तीन हजार, दुई दिनको पाँच हजार र तीन दिनको छ हजार पारिश्रमिक निर्धारण गरेको हो । यद्यपि विदेशी चलचित्रको हकमा दैनिक तीन हजार पारिश्रमिक तय गरिएको छ ।
म्युजिक भिडियोमा दैनिक दुई हजार पारिश्रमिक तय गरिएको छ । सङ्घका महासचिव दीपेन्द्र तिमल्सेनाले नृत्य कलाकारले पाइरहेको पारिश्रमिक न्यून रहेकाले बढाउने निर्णय गरेको जानकारी दिएका छन् ।
अहिले एक हजारदेखि एक हजार पाँच सयसम्म पारिश्रमिक लिएर काम गर्न बाध्य भएका अवस्थामा निर्धारण गरिएको पारिश्रमिकले चलचित्र र म्युजिक भिडियोमा समानता ल्याएको महासचिव तिमल्सेनाले बताएका छन् । निर्धारण गरिएको पारिश्रमिकको विषयमा सम्बन्धित सङ्घसंस्थासँग छलफल गरिरहेको उनले बताएका छन् ।
दैनिक ज्यालामा काम गरिरहेकाले बजारको मूल्यअनुसार पारिश्रमिकमा वृद्धि गरे पनि चलचित्र निर्माणको लागत बढिरहेको नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्ष नवल खड्काले बताएका छन् ।
अस्वाभाविक रूपमा बढिरहेको पारिश्रमिकले निर्मातालाई समस्या पारिरहेको वताउँदै खड्काले बजारअनुसार कलाकार, प्राविधिक र निर्देशकले पारिश्रमिक लिए मात्र निर्माताले चलचित्र निर्माणलाई निरन्तरता दिनसक्ने बताएका छन् ।
उनले बढाउनुपर्नेको पारिश्रमिक बढाएमा आफूहरुलाई आपत्ति नहुने पनि बताएका छन् ।
निर्देशक र कलाकारको पारिश्रमिक अस्वाभाविक रूपमा बढेको बताउँदै यसबारे कार्यसमितिको बैठक बसेर नै एउटा निर्णय लिने खड्काले बताएका छन् ।