काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्न लागेको हो ।
आजको बैठकले प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।
आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो ।
नयाँ आइजीपीका लागि वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य दाबेदार रहेका छन् ।
प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्न सक्ने व्यक्तिलाई आइजीपी बनाउनसक्ने उल्लेख छ।
यही चैत १० मा आइजीपी धीरजप्रताप सिंह अवकाश हुँदा उनीसँगै तीन एआइजी पनि अनिवार्य अवकासमा जाँदै छन् । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानेछन्। हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनःरिक्त हुन्छ।
हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआइजीमा डिआइजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए ।
एआइजीमा पदोन्नति भएकी किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वोच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला हुन् ।
यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइनन्।
बज्राचार्यसँगै डिआइजीमा बढुवा भएकी मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामानै पछि परेकोले महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकी हुन् ।




















