काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच सरकार विस्तारबारे प्रारम्भिक छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा प्रारम्भिक छलफल भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद् विस्तारबारे टुंगो नलागेको बताउँदै भने, ‘आज प्रारम्भिक छलफल भयो। सरकार विस्तारबारे थप छलफलका लागि प्रधानमन्त्रीले आवश्यकता अनुसार बैठक बोलाउनुहुन्छ । अहिले नै सरकार विस्तारको कुनै टुंगो लागेको छैन ।’
कुन-कुन पार्टीले कति मन्त्रालय पाउने निश्चित भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा लेखकले अहिले प्रारम्भिक छलफल मात्रै भएको बाँकी कुरा विस्तारै छलफल गरिने उनले बताए । ‘आवश्यकताअनुसार अर्को बैठक बस्छ।’ उनले बताए ।
साथै बैठकमा अयोग्य लडाकुलाई पैसा दिने विषय पनि उठेको र उक्त विषयमा प्रधानमन्त्रीले कुनै पनि निर्णय नभएको बताएको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभएका प्रधानमन्त्री प्रचण्डले यही साता सरकारलाई पूर्णता दिने तयारी गरिरहेको छ । तर, सत्ता साझेदार दलबीच भागबन्डा मिल्न सकेको छैन ।




















