काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतको झिनो अन्तरले हराएका हुन । कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरेका छन् भने उप्रेतीले २०९ मत प्राप्त गरिकी छिन् । २६ मत बदर भएको छ ।
उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भएका छन् भने महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् भने सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।
त्यस्तै सदस्यमा शीतल केसीले सर्वाधिक ३०२ मत प्राप्त गरी विजयी भएका छन् भने अन्य सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुस्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।
संस्थाको स्थापनाकालदेखि नै निरौलाले महासचिव र उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् भने अघिल्लो कार्यसमितिमा उनी उपाध्यक्ष र प्रवक्ता थिए ।