काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छड्के २’ बक्स अफिसमा फ्लप भएको छ । दिपकराज गिरी–दिपाश्री निरौलाहरुको छक्कापन्जा ४ सँग भिडेको छड्के २ ले दर्शकका साथै वितरकदेखि कलाकारहरुलाई समेत निरास बनाएको छ ।
सो फिल्मका अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै उक्त फिल्ममार्फत आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् ।
नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् । आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुने समेत प्रतिबद्धता जनाएका छन् ।
नायक केसीको आगामी फिल्म ‘जेरी स् अन टप’ छायांकनको तयारीमा छ । घाम डुबेपछि भोलि नयाँ बिहानी उदाउने भन्दै उनले दर्शकको दुखेको घाउमा मल्हम लगाउने प्रतिवद्धता जनाएका छन् ।
अनमोलको नवौं फिल्म ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल रह्यो र मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले यसलाई प्रदर्शनको ६ दिनमै हटाइदिएको थियो ।
उता सँगै प्रदर्शन भएको छक्कापन्छा ४ भने दर्शकको खचाखचका बीच भव्यरुपमा प्रदर्शन भइरहेको छ । सो फिल्मले छक्कापन्छा ३ को रेकर्ड तोड्ने अवस्थामा पुगेको छ ।