काठमाडौं । बहुप्रतिक्षित दुई नेपाली चलचित्र ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ आज एकैदिन देशभर रिलिज हुँदैछन् । ‘६ एकान ६’ देखि छक्कापञ्जाका ३ वटा सिक्वेल सबै सुपरहिट भएकाले यस पटक पनि आफ्नो फिल्म सुपरहिट हुनेमा दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ढुक्क देखिन्छ ।
आठ वर्षअघि प्रदर्शनमा आएको ‘छड्के’ को सिक्वेल छड्के २ टिम पनि आफ्नो फिल्म कमजोर नभएको भन्दै राम्रो चल्नेमा विश्वस्त देखिन्छ । हिट चलचित्रको सिक्वेल नभएकाले ‘छड्के २’ को व्यापारिक सफलता सुपरस्टार नायक अनमोल केसीमा निर्भर देखिन्छ । युवापुस्तामा चर्को फ्यान फलोइङ भएका अनमोलले अभिनय गरेका अधिकांश चलचित्र सफल छन् ।
छक्कापञ्जा ४ र छड्के २ एकै दिन रिलिज हुनु चाहीँ दुर्भाग्यपूर्ण भएको नेपाली चलचित्रका शुभेच्छुकहरूको भनाइ छ । एकअर्कासँग इगो राखेर एकै दिन रिलिज गरेको भन्दै उनीहरु दुवैले क्षति भोग्नुपर्ने अवस्था आएको चलचित्र समीक्षकहरुको टिप्पणी छ ।
छड्केले पहिला फागुन १९ गते रिलिज डेट तय गरेको थियो र पछि छक्कापञ्जाले पनि यही मिति घोषणा गरेको हो । छक्का पञ्जा आएपछि छड्केले मिति सार्ने दीपकराज गिरीको आशा थियो, तर त्यस्तो भएन । अनमोल केसी विगतमा बिग बजेटको दक्षिण भारतीय चलचित्रसँग समेत भिड्न नडराएको नजिर छ । उनले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बहुचर्चित दक्षिण भारतीय फिल्मसँग जुध्नुपरेको थियो । यसका बाबजुद चलचित्रले नाफाको व्यापार गरेको थियो ।

यता छक्कापञ्जामा पनि यसपालि केही नयाँपनको आश गरिएको छ । अघिल्ला सिक्वेलहरूको निर्देशन दीपाश्री निरौलाले गरेकी थिइन् भने यसपटक हेमराज विसी निर्देशक छन् । दीपाश्रीको तुलनामा निकै क्षमतावान निर्देशक हुन् हेमराज । छक्कापञ्जा ४ मा उनले आफ्नो खुबी कत्तिको पोख्न पाएका छन् त्यो चाहीँ चलचित्र हेरेपछि थाहा हुनेछ ।
रिलिजको अघिल्लो दिन दुवै चलचित्रका टिम मेम्बरले एक अर्कालाई शुभकामना दिएर स्वस्थ प्रतिस्पर्धाको भावना प्रदर्शन गरेका छन् । अनमोलले छड्केसँगै छक्का पञ्जालाई पनि शुभकामना दिएपछि दीपकराजले पनि पैँचो तिरेका छन् ।
दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका छन् । राजनीतिलाई पृष्ठभूमि बनाएर चलचित्र तयार गरिएको हो । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका छन् ।
हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

यस्तै ‘छड्के’ को सिक्वेल ‘छड्के २.०’ ग्याङस्टर श्रेणीको चलचित्र हो । प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ । ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिएका छन् ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।
रिलिजको अघिल्लो दिन दुवै चलचित्रका टिम मेम्बरले एक अर्कालाई शुभकामना दिएर स्वस्थ प्रतिस्पर्धाको भावना प्रदर्शन गरेका छन् । अनमोलले छड्केसँगै छक्का पञ्जालाई पनि शुभकामना दिएपछि दीपकराजले पनि पैँचो तिरेका छन् ।
दुवै चलचित्रका निर्माताले मिनिमम ग्यारेन्टीमा वितरकलाई बेचिसकेका छन् । छक्का पञ्जालाई मनोज राठीले अढाई करोडमा र छड्केलाई सुनिल मानन्धरले डेढ करोडमा खरिद गरेको बताइन्छ ।




















